लन्डन । एनआरएनए यूकेको उपाध्यक्षमा डा. रक्षा थापाले उम्मेदवारी घोषणा गरेकी छन् । लन्डनमा रहेर एक सफल महिला उद्यमीको परिचय बनाएकी डा. थापाले बिहीबार साउथ ह्यारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा एक कार्यक्रममा औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् ।
उमेमदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै डा. थापाले आफ्नो उम्मेदवारी कुनै राजनीतिक प्यानलबाट नभइ स्वतन्त्र रहेको बताइन । साथै आफूले लामो समयदेखि सामाजिक संघसंस्थामा सक्रिय भूमिका निर्वाह गर्दै आएको स्मरण गराउँदै थापाले आफ्नो सम्पूर्ण कार्यकाल नेपाली समुदायको हित, सम्मान र समृद्धिमा समर्पित गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
डा. थापाले बुंदागत रुपमा आफ्ना ११ प्रतिवद्धता समेत सार्वजनिक गरेकी छन् । उनले संस्थागत संरचना सुदृढीकरण र एकता प्रवर्धन, युवा सशक्तिकरण र नेतृत्व विकास, नेपाली संघसंस्थाबीचको एकता र सहकार्य सुदृढ गर्दै एनआरएन अभियानलाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाएकी छन् ।
साथै उनले गोर्खाहरुका माग पुरा गर्न बेलायत र नेपाल सरकार एवं सम्बन्धित निकायहरुसंग समन्वय गर्ने, नेपाली नागरिकता निरन्तरताका लागि आवश्यक नीतिगत पहल गर्ने, महिलाको सामाजिक, सांस्कृतिक र व्यवसायिक सशक्तिकरणमा केन्द्रित विशेष कार्यक्रम सञ्चालन गर्ने, बेलायतस्थित नेपाली समुदायको हित संरक्षण, नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण, दिगो परोपकार र विकास अभियान, संस्थागत पारदर्शीता र जवाफदेहीता, नेपाल बेलायत सम्बन्ध सुदृढीकरणमा जोड दिने लगायतका विषयमा पनि आफ्नो महत्वपूर्ण भूमिका रहेने प्रतिवद्धता जनाइन ।
लन्डनका एक सफल व्यवसायिक कम्पनी माया सर्पोटेड लिभिङकी निर्देशक समेत रहेकी डा. थापाको उम्मेदवारी घोषणासभामा उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले अग्रीम शुभकामना दिएका छन् ।
एनआरएनए यूकेको निर्वाचन आउँदो २६ जुलाईमा अनलाइनमार्फत हुँदैछ ।






