लन्डन । एनआरएनए यूकेको अध्यक्ष पदका उम्मेदवार राजेन्द्र पुडासैनीले सञ्चारकर्मी तथा आफ्नो टिमका उम्मेदवारहरुबीच आफ्नो १० प्रतिवद्धता पुनः दोहोर्याएका छन् । सोमबार लन्डन नर्थ वेम्लीस्थित एरोमा बार एण्ड रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि पुडासैनीले संस्थालाई अझ सदस्य केन्द्रित, जवाफदेही, समावेशी र एकवद्ध बनाउने दृढ संकल्पका साथ अध्यक्ष पदमामा उम्मेदवारी दिएको बताएका छन् ।
सो क्रममा पुडासैनीले लिडरसीप क्राइसीसबीच संघलाई रिब्रान्डिङ, वृहत्तर राष्ट्रवाद, संस्थागत एकता सुदृढ संगठन, दुःख र आपतकालमा सहारा, युवा तथा दोश्रो पुस्तालाई एनआरएनप्रति आकर्षण, लगानी, ज्ञान र सीप हस्तान्तरण गरि सुन्दर नेपाल निर्माणमा योगदान, भूतपूर्व गोर्खा र वरिष्ठ नागरिकको सम्मान, नेपाली कला संस्कृतिको संरक्षण र पहिचान, एकपटकको नेपाली सधैंको नेपाली भएकाले मातृभूमिसंग जोडिइराख्न वंशजको नेपाली नागरिकता निरन्तरता, संघसंस्थाहरुसंगको सहकार्य, विज्ञहरुको सञ्जाल निर्माण, पुस्तान्तरण अभियान, दीगो र भरपर्दो एनआरएन, सबै नेपालीको आस्थाको पुञ्ज साझा घर नेपाल हाउस बनाउने जस्ता आफ्ना मुख्य एजेन्डा प्रस्तुत गरे ।
उनले गैरआवासीय नेपालीहरुलाई आशाको सञ्चार जगाउँदै वृहत्तर एकता र समझदारीका लागि प्रतिवद्ध रहने समेत बताए । उनले चुनावी अभियानका क्रममा आफ्नो बढ्दो सक्रियता र प्रचार प्रसारबाट इर्श्या गरेर केही विरोधीले अनैतिक काम गरि फेसबुक नै बन्द गराइएको भन्दै असन्तुष्टि व्यक्त गरे।
कार्यक्रममा उम्मेदवारहरुलाई शुभकामना दिन एनआरएनए केन्द्रीय सहकोषाध्यक्ष कृष्ण तिमल्सेना, एनआरएनए यूके उपाध्यक्ष कृष्ण भण्डारी, आइसीसी सदस्य सरस्वती केसी, तमुधिं यूके पूर्व अध्यक्ष रामचन्द्र ९सूर्जे० गुरुङ, पूर्व आइसीसी सदस्य भीमलाल भट्टराई, एनआरएनए यूके सचिवप्रतिभा न्यौपानेलगायत उपस्थित थिए ।







