लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता डा. कुलप्रसाद कँडेलले आगामी महिनाहरुमा हुने विभिन्न महत्त्वपूर्ण कार्यक्रमहरुका लागि गैर आवासीय नेपालीहरुलाई आ-आफ्नो पात्रोमा मितिहरु टिपोट गर्न आग्रह गरेका छन् ।
एनआरएनए र नेपालबीचको सम्बन्धलाई थप सुदृढ गर्दै लगानी र सामुदायिक भावनालाई बढावा दिनका लागि महत्वपूर्ण कार्याक्रमहरुलाई विशेष ध्यान दिनु पर्ने प्रवक्ता कंडेलको भनाइ छ ।
कंडेलले अक्टोबर ११ र १२, २०२५ (असोज २५-२६, २०८२) मा एनआरएन लगानी सम्मेलन (नेपालमा लगानीका अवसरहरु खोज्ने उत्कृष्ट मंच) सम्मेलन नेपाल सरकार र निजी क्षेत्रको सहकार्यमा काठमाडौंमा हुने त्यसैगरि अक्टोबर ११, २०२५ मा एनआरएन दिवसकै अवसर पारेर स्वस्थ जीवनशैली र एकताको सन्देश दिँदै एनआरएन म्याराथन पनि काठमाडौंमा आयोजना हुने जानकारी गराएका छन् ।
त्यसैगरि सेप्टेम्बर २१, २०२५ मा (युएईमा) मा विधानमा भएका जटिलता हटाउन एक विशेष साधारण सभा गरिने जानकारी दिएका छन् भने अगस्ट २०२५ मा युरोपस्तरीय क्षेत्रीय सम्मेलनको मिति र स्थान चाँडै घोषणा गरिने जानकारी दिएका छन् ।
यी कार्यक्रमहरुले नेपालको विकास र कल्याणलाई सहयोग पुर्याउने पहलहरुमा विश्वभरका गैर आवासीय नेपाली समुदायलाई संलग्न गराउने एनआरएनएको प्रतिबद्धतालाई जोड दिने प्रवक्ता कंडेलले उल्लेख गरेका छन् ॥






