लन्डन । नेपाली समुदायको सेवा, नेतृत्व र सामाजिक उत्तरदायित्वमा झण्डै दुई दशकदेखि समर्पित रहँदै आएकी समाजसेवी राम माया थापाले आगामी कार्यकालका लागि इङ्ल्याण्ड राज्य परिषद्को अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
दुई दशकदेखि बेलायत बस्दै आएकी थापा सो समयदेखि नै सामाजिक कार्यमा सक्रिय रहँदै आइरहेकी छन् । उनले २६ जुलाईमा हुने निर्वाचनका लागि आफ्नो उम्मेदवारी सार्वजनिक गरेकी हुन् ।
बेलायतमा स्थापित नेपाली सामाजिक संस्थाहरूमा प्रभावशाली उपस्थिति बनाउँदै आएकी थापाले समुदायको समावेशी, प्रगतिशील र दिगो नेतृत्वको खाँचो पूरा गर्न आफू अघि सरेको स्पष्ट पारेकी छन् ।
पहिलो पटक महिला अध्यक्ष बन्ने अठोटका साथ अघि बढेको बताउदै थापाको उम्मेदवारी घोषणाले समाजसेवाको समर्पणदेखि आपत्कालीन राहत, महिला सशक्तिकरण, युवापुस्ताको अभिवृद्धि तथा व्यवसायिक सफलताको सशक्त नमूना बोकेको बताइन ।
विगत झण्डै २० वर्षको अवधिमा उनले बेलायतस्थित विभिन्न नेपाली संघ–संस्थामा अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, मिडिया सचिव तथा प्रवक्ताका रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै व्यापक अनुभव आर्जन गरि सकेकी थापा हाल २०२३–२०२५ को कार्यकालमा इङ्ल्याण्ड राज्य परिषद्को कोषाध्यक्षका रूपमा रहेकी छन् ।
अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्दै थापाले आफू निर्वाचित भएमा समुदायका समग्र हितलाई समेट्ने जिम्मेवारीपूर्वक योजना अघि सारेकी छन् । उनले बेलायतभर रहेका नेपाली संघ–संस्थाबीच समन्वय, सहकार्य र एकताको वातावरण निर्माण गर्ने, सामाजिक क्षेत्रमा महिलाहरूको प्रतिनिधित्व र सक्रिय सहभागिता उल्लेखनीय रूपमा वृद्धि गर्ने, युवाहरूलाई नेतृत्वतर्फ उत्प्रेरित गर्दै सामाजिक जिम्मेवारीप्रति सजग बनाउने पहल गर्ने, नेपालसँगको भावनात्मक, सांस्कृतिक र मानवीय सम्बन्धलाई अझ मजबुत बनाउने प्रयास गर्ने, बुद्धिजीवी, अनुभवी र पेशागत समुदायलाई नीतिगत संलग्नतामा ल्याउने, बेलायतमा अध्ययनका लागि आउने नेपाली विद्यार्थीहरूलाई सहयोग, सल्लाह, संरक्षकत्व र सुरक्षा प्रदान गर्ने वातावरण निर्माण गर्ने लगायतका प्रतिवद्धता अघि सारेकी छन् ।







