,

अन्तर्राष्ट्रिय नेपाली मञ्च यूकेको अध्यक्षमा विमला लिम्बू पुनः चयन

Bimala Sene Avatar

लन्डन । नेपाल कम्युनिष्ट पार्टीनिकट अन्तर्राष्ट्रिय नेपाली मञ्च यूकेको अध्यक्षमा विमला लिम्बू दोस्रो कार्यकालका लागि पुनः चयन भएकी छन् । शनिबार बेलायतको अल्डरसटमा सम्पन्न मञ्चको छैटौं अधिवेशनले लिम्बूको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

अध्यक्ष पदका लागि यसअघि दाबी गरेका कर्म पहाडी शेर्पा र फूलप्रसाद कँडेलले अन्तिम समयमा लिम्बूलाई समर्थन गरेपछि उनी सर्वसम्मत अध्यक्ष चयन भएकी हुन् । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा कपिल राई, हरि अर्याल, सन्तोष राई र दिनेश ढकाल चयन भएका छन् । महासचिवमा भीम राई, सचिवमा वीर बलाल र संघर्ष राई, कोषाध्यक्षमा भरत तुम्बाहाम्फे तथा प्रवक्तामा कृष्ण खनाल चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा अरुण थापा, सुशीला दवाडी, गौतम राई, शरद लावती, नवीन राई, सौरभ राई, गणेश राई, दिनेश बान्तवा, विदुर राई र कुमार बान्तवा चयन भएका छन् । रिटायर्ड मेजर योगेश कोयी राईको संयोजकत्वमा गठित निर्वाचन समितिले नयाँ कार्यसमिति घोषणा गरेको थियो । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले प्रमुख अतिथि, नेपाली कम्युनिष्ट पार्टीका संगठन विभाग प्रमुख एवं पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’बाट पद तथा गोपनीयताको शपथ लिएका थिए ।

अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री पुनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि नेपालमा सडक, विद्युत्, प्रविधिलगायतका क्षेत्रमा उल्लेखनीय विकास भएको दाबी गरे । वर्तमान सरकार राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बने पनि मुद्दाका हिसाबले भने नेपाली कम्युनिष्ट पार्टीको जित भएको उनको भनाइ थियो ।

अधिवेशनको बन्दसत्रले अन्तर्राष्ट्रिय नेपाली मञ्च यूकेलाई युरोप मोर्चा तथा पश्चिम प्रदेश समितिअन्तर्गत नराखी छुट्टै मान्यता दिने प्रस्तावसमेत सर्वसम्मतिले पारित गरेको छ। बेलायत युरोपेली संघ (ईयू) बाट बाहिरिइसकेको तथा बेलायतमा रहेका नेपालीको संख्या ईयूका २७ सदस्य राष्ट्रमा रहेका नेपालीको कुल संख्याभन्दा बढी रहेको आधारमा उक्त प्रस्ताव अघि सारिएको विश्वास दीप तिगेलाले बताए ।

अधिवेशनकै क्रममा जनता समाजवादी पार्टी यूकेका सचिव सन्तोष राईसहित १४ जना नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । गत फेब्रुअरीमा नेपाली जनप्रगतिशील मञ्च, प्रवासी नेपाली एकता मञ्च र नेपाली समाजबीच एकता भएपछि अन्तर्राष्ट्रिय नेपाली मञ्च यूकेको यो पहिलो अधिवेशन भएको हो। नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search