काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा गैरआवासीय नेपाली (एनआरएन) का रूपमा कार्यरत ३६ जना नेपाली चिकित्सकहरूको लाइसेन्स खारेज गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ।
संघका प्रवक्ता सोमनाथ सापकोटाद्वारा जारी विज्ञप्तिमा उक्त निर्णयले सम्बन्धित चिकित्सकहरूको पेशागत भविष्यमा मात्र नभई विदेशमा कार्यरत सम्पूर्ण नेपाली चिकित्सकहरूको मनोबलमा नकारात्मक असर पार्ने उल्लेख गरिएको छ।
एनआरएनएले नेपालको संविधानले गैरआवासीय नेपालीहरूको अधिकार सुनिश्चित गरिसकेको अवस्थामा बसोबासकै आधारमा चिकित्सकहरूको पेशागत पहिचानमाथि प्रश्न उठाउने वा लाइसेन्स खारेज गर्ने कार्य न्यायोचित नहुने स्पष्ट पारेको छ।
चिकित्सा पेशा मानव सेवासँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएकाले यस्ता निर्णय गर्दा पर्याप्त परामर्श, स्पष्ट आधार र प्रक्रियागत पारदर्शिता अनिवार्य रूपमा पालना गरिनुपर्नेमा संघले जोड दिएको छ। तर सम्बन्धित चिकित्सकहरूसँग पूर्वजानकारी, समन्वय र संवाद नगरी लाइसेन्स खारेजीको प्रक्रिया अघि बढाइएको भन्दै संघले असन्तुष्टि जनाएको छ।
संघले सरोकारवाला निकायहरूसँग आवश्यक संवादमार्फत न्यायोचित, पारदर्शी र व्यवहारिक समाधान खोज्न आग्रह गरेको छ। साथै, सम्बन्धित निकायले उक्त निर्णय पुनर्विचार गर्ने अपेक्षा पनि व्यक्त गरेको छ।








