काठमाडौँ : काठमाडौँमा जारी साफ महिला च्याम्पियनशिपमा नेपाल आजको खेल सहज रुपमा जितेर समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ।
समूह विजेता बन्ने क्रममा नेपालले आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह ‘बी’को आफ्नो अन्तिम खेलमा श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो।
आजको जितसँगै नेपालले ३ खेलबाट ७ अंक जोड्यो। पहिलो खेलमा भुटानविरुद्ध गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई ११–० को फराकिलो गोल अन्तरले पराजित गरेको थियो।
आजको पराजयपछि श्रीलंका ३ अंकमा सीमित रहँदै र प्रतियोगिताबाट बाहिरिएको छ। श्रीलंकाले पहिलो खेलमा माल्दिभ्सलाई १–० को पराजित गरेको थियो भने दोस्रो खेलमा भुटानसँग ४–१ को पराजित भएको थियो।
भुटानले यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। आजै भएको पहिलो खेलमा भुटान माल्दिभ्सलाई १३–० को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको हो।
नेपाल र भुटानको अंक बराबर भए पनि नेपाल गोल अन्तरका आधारमा भुटानलाई उछिन्दै समूह विजेता बनेको हो।






