लन्डन । लन्डनस्थित नेपाली राजदूतावास ले बेलायतमा बसोबास गर्ने नेपालीहरूलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले स्कटल्याण्ड र प्रेस्टन क्षेत्रमा घुम्ती शिविर सञ्चालन गरेको छ। स्कटल्याण्डमा गैरआवासीय नेपाली संघको समन्वयमा गरिएको शिविरबाट करिब ८० जनाले सेवा लिएका छन् भने प्रेस्टनमा पहिलोपटक आयोजित शिविरबाट करिब ३० जना लाभान्वित भएका छन्।
प्रेस्टन केन्द्रित शिविरले म्यानचेस्टर, लिभरपुल, कार्लिस र बोल्टन आसपासका नेपालीहरूलाई समेत सेवा प्रदान गरेको थियो। शिविरमार्फत राहदानी नवीकरण, कागजात प्रमाणीकरण, वारेसनामा, एकतर्फी यात्रा अनुमतिपत्र र पर्यटक भिसा जस्ता कन्सुलर सेवा उपलब्ध गराइएको कार्यवाहक राजदूत विपिन दुवाडी ले जानकारी दिएका छन्।
दूतावासले आगामी दिनमा आयरल्याण्ड लगायत अन्य क्षेत्रमा पनि यस्ता शिविर विस्तार गर्ने योजना बनाएको जनाएको छ ।







