लण्डन — रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, स्वास्थ्य सेवा तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री, स्वास्थ्य सेवा तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्न उक्त सहयोग परिचालन गरिने एनआरएनएले जनाएको छ । एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माको अध्यक्षतामा बुधबार बसेको बृहत् भर्चुअल आपत्कालीन बैठकले बाढीपीडितका लागि तत्काल राहत तथा स्वास्थ्य सेवामा सहयोग गर्ने निर्णय गरेको हो।
चिकित्सक टोली परिचालन गरिने
एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा तत्काल पुर्याउन चिकित्सकको विशेष टोली परिचालन गर्न आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बाढीका कारण घाइते तथा प्रभावित नागरिकको स्वास्थ्य उपचारलाई प्राथमिकता दिँदै चिकित्सकीय जनशक्ति र आवश्यक स्वास्थ्य सामग्रीसहितको टोली परिचालन गर्ने तयारी गरिएको छ। टोलीमार्फत प्राथमिक उपचार, स्वास्थ्य परीक्षण, औषधि वितरण तथा स्वास्थ्य परामर्श उपलब्ध गराउने योजना रहेको एनआरएनएले जनाएको छ।







