काठमाडाैँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै नेपालको पछिल्लो विनाशकारी बाढीलाई विश्वका लागि जलवायु परिवर्तनको गम्भीर चेतावनीका रूपमा प्रस्तुत गरेका छन् । उनले जलवायु संकटबाट बढी प्रभावित तर हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गर्ने मुलुकहरूका लागि जलवायु न्याय, क्षतिपूर्ति र अनुदानमा आधारित अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका छन्।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीले नेपालको जनजीवन, पूर्वाधार र विकास प्रक्रियामा ठूलो क्षति पुर्याएको उल्लेख गरे । उनले सम्बोधनको सुरुमै नेपालबाट विश्व समुदायका लागि एउटा चेतावनी लिएर आएको बताउँदै हिमालय क्षेत्रमा देखिएका जलवायुजन्य विपद्लाई नेपालको मात्रै समस्या ठान्न नहुने धारणा राखे।
प्रधानमन्त्री शाहले पछिल्लो विपद्मा कम्तीमा १ हजार ४ सय जनाको मृत्यु पुष्टि भएको र ६ हजारभन्दा बढी मानिस अझै बेपत्ता रहेको उल्लेख गरे। नेपालको प्रारम्भिक क्षति आकलनले भौतिक पुनःस्थापना तथा पुनर्निर्माणका लागि कुल गार्हस्थ उत्पादनको करिब १० प्रतिशत बराबर स्रोत आवश्यक पर्ने देखाएको पनि उनले बताए । उनले विपद्पछि नेपाललाई तत्काल सहयोग उपलब्ध गराएको भन्दै छिमेकी भारत र चीनसहित मित्रराष्ट्रहरू, संयुक्त राष्ट्रसंघीय निकाय, मानवीय सहायता संस्था, परोपकारी संस्था तथा अन्तर्राष्ट्रिय समुदायप्रति धन्यवाद व्यक्त गरे ।
प्रधानमन्त्री शाहले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम भए पनि जलवायु परिवर्तनको गम्भीर असर नेपालले बेहोर्नुपरेको उल्लेख गरे। हिमनदीहरू खुम्चिँदै गएको, हिमाली भूभाग अस्थिर हुँदै गएको र नदीहरूको व्यवहारसमेत पूर्वानुमान गर्न कठिन बन्दै गएको उनको भनाइ थियो । उनले जलवायुजन्य विपद्ले सडक, पुल, विद्यालय, घर, खेतीयोग्य जमिन, जलविद्युत् पूर्वाधार र नागरिकको जीविकोपार्जनमा क्षति पुर्याउँदा गरिब तथा विकासोन्मुख देशहरू थप ऋण लिन बाध्य हुने अवस्थातर्फ विश्व समुदायको ध्यानाकर्षण गराए।
प्रधानमन्त्री शाहले जलवायु परिवर्तनको विषयलाई भूराजनीतिक द्वन्द्वको अर्को माध्यम बनाउन नहुने उल्लेख गर्दै ऐतिहासिक रूपमा बढी प्रदूषण गरेका र बढी आर्थिक क्षमता भएका मुलुकहरूले ठूलो जिम्मेवारी लिनुपर्ने बताए । उनले ‘जलवायु न्याय’ अन्तर्राष्ट्रिय दस्तावेजमा सीमित नहोस् भन्दै विपद्पछि बारम्बार विगतको पुनर्निर्माणमा स्रोत खर्च गर्नुपर्ने अवस्थाबाट कमजोर मुलुकहरूलाई बाहिर निकाल्नुपर्ने धारणा राखे।
प्रधानमन्त्री शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ स्थापना गर्न प्रस्ताव गरेका छन् । उक्त संयन्त्रमार्फत भू–उपग्रहसम्बन्धी तथ्याङ्क तथा वैज्ञानिक विशेषज्ञता साझा गर्ने, जोखिमयुक्त हिमतालको संयुक्त अनुगमन गर्ने, पूर्वसूचना प्रणाली सुदृढ गर्ने तथा विपद्को समयमा सीमापार राहत तथा सहयोग समन्वय गर्न सकिने उनले बताए ।







