माघ ५ गतेदेखि निरन्तर रुपमा संविधानसभाको बैठक बहिष्कार गर्दै आएका विपक्षी दलको मोर्चाले संविधानसभाको बैठकमा भाग लिदै संबिधान लेखनको प्रक्रिया अघि बढाउने निर्णय गरेका छन्। मंगलबार एकीकृत माओवादी संसदीय दलको कार्यलयमा बसेको विपक्षी दलको बैठकले सोमबार राति भएको प्रमुख चार राजनीतिक दलबीच भएको सहमतिपछि संविधानसभाममा भाग लिने निर्णय गरेको मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो। मोर्चामा आबद्ध अन्य दुई दल संघीय समाजवादीका अध्यक्ष अशोक राई राजधानी बाहिर भएका कारण बैठकमा अनुपस्थित रहेका थिए भने तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव दिल्लीमा उपचाररत भएका कारण बैठकमा उपस्थित हुन सकेनन। उनीहरु दुवै जना संविधानसभामा सहभागी हुने मोर्चाका प्रवक्ता सिंहले बताउनुभयो।

प्रमुख चार राजनीतिक दलबीच सोमबार राति भएको विरोधमा रहेका मोर्चामा आबद्ध तीन दल तराई मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनाधिकार फोरम नेपाल र सद्भावना पार्टीले भने मोर्चाको बैठक बहिष्कार गर्ने निर्णय गरेका छन्। सिंहदरबारमा बसेको बैठकले दलहरुबिच भएको निर्णय स्वीकार्य नरहेको भन्दै बहिष्कार गर्ने निर्णय गरेको तमलोपाका ह्दयेश त्रिपाठीले जानकारी दिनुभयो। मोर्चा संयोजक एवं एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र फोरम लोकतान्त्रिका अध्यक्ष विजयकुमार गच्छदारले नामाकंन र सिमाकंन पछि राख्ने गरी आठ प्रदेश बनाउने सहमति गरेपछि मोर्चाभित्र विवाद छ।