काठमाडौ- भूकम्पपछि ठप्प रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण सुचारु भएको छ। अहिले दैनिक २० मिटर सुरुङ खन्न सुरु भएको र तीव्र गतिमा काम भइरहेको आयोजनाले जनाएको छ। आयोजनाका प्रमुख घनश्याम भट्टराईले कामदारहरू काममा फर्केको र सुरुङ निर्माण भइरहेको बताए। सरकारले दैनिक ४० मिटर सुरुङ खन्ने लक्ष्य राखेको भन्दै भट्टराईले भूकम्पले गर्दा काम गर्न नसकेको बताए।

सरकारले २०७३ वैशाख १ गते उपत्यकामा पानी झार्ने घोषणा गरिसकेको छ। तर, हालसम्म १२ किलोमिटर मात्र सुरुङ खनिएको छ भने, अझै १५ किमि मुख्य सुरुङ खन्न बाँकी छ। प्रमुख भट्टराईले चट्टानले गर्दा सिन्धु अडिटबाट मुख्य सुरुङ खन्ने काममा ढिलाइ भएको बताए। रातदिन काम गरेर भए पनि दैनिक ४० मिटरभन्दा बढी सुरुङ खन्ने उनको दाबी छ । तीव्र गतिमा काम अघि बढे १० महिनाभित्र राजधानीवासीले मेलम्चीको पानी पिउने उनले दाबी गरे।

आयोजनाको लागत ७ अर्ब २७ करोड रुपैयाँ हो। एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण हुने सुरुङबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याउने योजना छ। त्यसका लागि सीएमसीलाई ठेक्का सम्झौतामा ढिलोमा ३६ महिनाभित्र सुरुङ र इन्टेक निर्माण गरिसक्नुपर्ने समयसीमा दिइएको छ। दैनिक साढे ८ करोड लिटर पानी प्रशोधन गर्न सुन्दरीजलमा संरचना निर्माण सुरु भइसकेको छ।

if (document.currentScript) {