
बोर्नमाथ, – डोर्सेट नेपलिज सोसाइटीले क्यान्सर सचेतना कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा स्वास्थ्य जोखिम, रोकथामका उपायहरू र क्यान्सररोगसँग जोडिएका सांस्कृतिक अवरोधहरूका बारेमा छलफल गरिएको थियो। छलफलमा स्थानीय समुदायका करिब ६० जना सदस्यहरूको उपस्थिति थियो ।
वेसेक्स क्यान्सर एलायन्सको “कम्युनिटी एगेन्स्ट क्यान्सर” (क्यान्सर विरुद्ध समुदाय) कोषद्वारा आर्थिक सहयोग प्राप्त यस सचेतना कार्यक्रमको उद्देश्य दक्षिण एसियाली जनसमुदायमा स्वास्थ्य साक्षरताको कमीलाई हटाउनु र क्यान्सररोगको प्रारम्भिक जाँच (स्क्रिनिङ) लाई प्रोत्साहन गर्नु थियो।
कार्यक्रममा स्वास्थ्य विज्ञहरूले विभिन्न विषयमा प्रस्तुति दिएका थिए। डोर्सेट नेपलिज सोसाइटीका कार्यकारी सदस्य एवं बोर्नमाथ विश्वविद्यालयका इन्टरनेशनल हेल्थका प्रिन्सिपल एकेडेमिक डा. प्रमोद रेग्मीले विश्वव्यापी, बेलायत र नेपाली सन्दर्भमा क्यान्सरको अवस्थाबारे जानकारी दिनुभयो। डा. रेग्मीले भन्नुभयो, “क्यान्सरको दर बढ्दै गएकाले नेपाली र अन्य दक्षिण एसियाली समुदायका लागि सचेतना महत्त्वपूर्ण छ। हाम्रो समुदायमा स्क्रिनिङ र प्रारम्भिक निदानका लागि ठूला सांस्कृतिक र व्यावहारिक बाधाहरू छन्। त्यसैले यस्ता सचेतना कार्यक्रमहरू धेरै आवश्यक छन्।”
बेलायतको सरकारी स्वास्थ्य सेवा का जीपी रजिस्ट्रार डा. विपिन सापकोटाले क्यान्सररोगका क्लिनिकल पक्षहरू, मुख्य जोखिमका कारकहरू, लक्षण र रोकथामका बारेमा विस्तृत जानकारी दिनुभयो। डा. सापकोटाले थप्नुभयो, “विशेष गरी दक्षिण एसियाली समुदायमा व्याप्त क्यान्सर सम्बन्धी भ्रम विरुद्ध लड्न र सचेतना फैलाउन यो एक राम्रो अवसर थियो। स्वास्थ्य प्रवर्द्धन र प्रारम्भिक जाँच सुनिश्चित गर्न म आगामी दिनमा पनि मार्गदर्शन र ज्ञान बाँडिरहनेछु।”
दुई घण्टा चलेको उक्त कार्यक्रममा नेपाली समुदायमा प्रचलित क्यान्सर सम्बन्धी भ्रमहरू चिर्न विशेष जोड दिइएको थियो। डोर्सेट नेपलिज सोसाइटी का सचिव विक्की सापकोटाद्वारा सहजीकरण गरिएको उक्त सत्रमा अन्तरक्रियात्मक हाजिरीजवाफ र खुला छलफल गरिएको थियो, जसले प्रायः “वर्जित” मानिने प्रश्नहरू सोध्नका लागि सुरक्षित वातावरण सिर्जना गरेको थियो।

सामुदायिक नेतृत्वको कार्यमा जोड दिँदै डोर्सेट नेपलिज सोसाइटीका अध्यक्ष तुलसी फुयाँलले यस कार्यक्रमलाई भविष्यको परिवर्तनको संवाहकका रूपमा उल्लेख गर्नुभयो। “हाम्रो समुदायका स्वास्थ्य समस्याहरू समाधान गर्न हामीले मिलेर काम गर्नुपर्छ,” फुयाँलले भन्नुभयो। “यो संयुक्त प्रयास यस दिशामा अघि बढ्ने पहिलो कदम हो।”
सांस्कृतिक भ्रमले गर्दा प्रायः नियमित क्यान्सर जाँचमा बाधा पुग्ने कुरालाई ध्यानमा राख्दै, आयोजकहरूले रोगको प्रारम्भिक पहिचानका लागि सामुदायिक स्तरको स्वास्थ्य शिक्षा र सशक्तीकरण महत्त्वपूर्ण रहेको बताएका छन्। डोर्सेट नेपलिज सोसाइटीले आगामी मार्चको सुरुमा अर्को क्यान्सर सचेतना तथा स्वास्थ्य प्रवर्द्धन सत्र आयोजना गर्ने योजना बनाएको छ। २९०२९ रेस्टुरेन्टले कार्यक्रमका लागि स्थान र आवश्यक व्यवस्थापनमा सहयोग गरेको थियो ।



Leave a Reply