लण्डन । बेलायत यतिबेला अत्यधिक गर्मी (हिटवेभ) को चपेटामा परेको छ । मौसमविद्हरूले तापक्रम अझै बढ्ने चेतावनी दिएका छन्, जसका कारण जनजीवन थप प्रभावित हुने देखिएको छ।
बेलायतको मौसम विभागले केही क्षेत्रमा तापक्रम ३९ डिग्री सेल्सियस वा सोभन्दा माथि पुग्न सक्ने जनाएको छ। दक्षिणी इंग्ल्याण्डका विभिन्न भागमा ‘रेड एक्स्ट्रिम हिट वार्निङ’ तथा ‘हिट हेल्थ अलर्ट’ जारी गरिएको छ।
अत्यधिक गर्मीका कारण इंग्ल्याण्ड र वेल्सभरिका सयौं विद्यालय बन्द गरिएका छन् भने कतिपय विद्यालयले कक्षा समय छोट्याएका छन्। रेल सेवामा पनि व्यापक असर परेको छ। रेलका लिक तथा विद्युत् संरचनामा गर्मीको असर पर्ने जोखिम बढेपछि विभिन्न रेल कम्पनीहरूले सेवा कटौती गरेका छन् र यात्रुहरूलाई अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न आग्रह गरेका छन्।
मेट अफिसका अनुसार यस साताको तापक्रमले सन् १९७६ मा कायम भएको जुन महिनाको ३५.६ डिग्री सेल्सियसको रेकर्ड तोड्ने सम्भावना छ। मौसम विज्ञहरूले लगातार तातो दिन र ‘ट्रपिकल नाइट’ अर्थात् रातिको तापक्रम २० डिग्रीभन्दा तल नझर्ने अवस्थाले स्वास्थ्यमा थप जोखिम निम्त्याउने चेतावनी दिएका छन्।
बुधबार बेलायतले जुन महिनाकै सबैभन्दा उच्च तापक्रमको नयाँ कीर्तिमानसमेत कायम गरेको छ। दक्षिणी इंग्ल्याण्डमा ३५.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ, जसले सन् १९५७ र १९७६ को पुरानो रेकर्डलाई उछिनेको छ।
स्वास्थ्य अधिकारीहरूले वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला तथा दीर्घरोगीहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। अत्यधिक गर्मीका कारण शरीरमा पानीको कमी, थकान, घाम लाग्ने तथा अन्य स्वास्थ्य समस्या बढ्न सक्ने भएकाले पर्याप्त पानी पिउन, दिउँसोको चर्को घामबाट जोगिन र सकेसम्म घरभित्रै बस्न सुझाव दिइएको छ।







