लन्डन । पोखरेली मञ्च यूकेको आयोजनामा बेलायतमा वर्षेनी हुंदै आएको पीपल नेपालकप टी ट्वान्टी क्रिकेटको नवौं संस्करण आइतबार शुरु भएको छ । रेडिङको सोनिङ लेनस्थित रेडिङ क्रिकेट क्लब मैदानमा एक औपचारिक कार्यक्रमबीच प्रतियोगिता औपचारिक उद्घाटन गरियो ।
प्रतियोगिताका समूह चरणका ६ खेलहरु आइतबार र बाँकी ५ खेल बुधबार ८ जुलाइमा सञ्चालन हुनेछन् । सेमीफाइनल र फाइनल खेलसहितको समापन कार्यक्रम १२ जुलाइमा हुनेछ । नवौं पीपल नेपालकप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा खुकुरी, माया, हिमालयन, नवयुवा, गोर्खा केन्ट, रमाइलो, नटिङहम गोर्खा, साथी, माया डांफे, वुल्भरह्याम्पटन वारियर र एभरेष्ट राइनोसहित ११ टीमले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिता नेपाली राष्ट्रिय टीमबाट खेलिसकेका क्रिकेटरहरु अर्जुन साउद, रिजन ढकाललगायतले पनि खेल्दैछन् । त्यस्तै, नटिङहम काउन्टीका दीपेश सापकोटासहित बेलायतकै स्थानीय लिगहरु खेल्ने कयौं उदयीमान खेलाडीहरु पनि विभिन्न टीमबाट प्रतियोगिता खेल्नेछन् । प्रतियोगिताको विजेताले नगद २ हजार पाउण्ड पुरस्कार, रनिङ ट्रफी र मेडल प्राप्त गर्नेछन् । उपविजेताले नगद १ हजार पाउण्डसहितको पुरस्कार पाउनेछन् ।






