लन्डन । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूको सम्झनामा बेलायतको अल्डरसटमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके र ग्रेटर रश्मोर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेको संयुक्त आयोजनामा मंगलबार साँझ अल्डरसटस्थित प्रिन्सेस गार्डेन्स (कुलवीर थापा भीसी मेमोरियल) मा कार्यक्रम भएको हो ।
कार्यक्रममा बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको सम्झनामा दीप प्रज्वलन गरिएको थियो। सहभागीहरूले विपद्बाट प्रभावित परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनामा सहयोगका लागि नेपाली समुदाय एकजुट हुनुपर्नेमा जोड दिए ।
कार्यक्रमकी प्रमुख अतिथि पूर्वउपसभामुख तथा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले बाढीपहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति सहानुभूति प्रकट गरिन् । उनले सरकारले बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक पहल गरिरहेको बताउँदै जलवायु परिवर्तनका कारण नेपालमा बढ्दै गएको प्राकृतिक विपद् नेपालको मात्र समस्या नभएको उल्लेख गरिन्। जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि विश्व समुदाय नै गम्भीर भएर अघि बढ्नुपर्नेमा उनले जोड दिइन् ।
एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले बाढीपहिरोबाट प्रभावित नेपालीहरूलाई यथासक्य सहयोग गर्न बेलायतमा रहेका नेपाली समुदायलाई आग्रह गरे। विपद्को समयमा पीडितको साथमा उभिनु सबैको साझा दायित्व भएको बताउँदै उनले राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको उल्लेख गरे । अध्यक्ष गाहा मगरले राहत वितरणका लागि आफूहरू प्रभावित क्षेत्रमा जान लागेको जानकारी दिँदै आवश्यक सहयोग संकलन भइरहेको बताए। संकलित सहयोगलाई पारदर्शी रूपमा प्रभावित क्षेत्रमा पुर्याएर पीडित परिवारलाई आवश्यक राहत उपलब्ध गराउने प्रयास भइरहेको उनको भनाइ थियो ।
महाभूकम्प र कोभिड महामारीका बेला ठूलो रकम संकलन भए पनि त्यसको प्रभावकारी सदुपयोग हुन नसकेको तथा कतिपय अवस्थामा सहयोग पीडितसमक्ष समयमै पुग्न नसकेको प्रसंग उल्लेख गर्दै गाहा मगरले यसपटक एनआरएनए यूकेले राहत संकलन तथा वितरण प्रक्रियामा ‘वाचडग’को भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा बोल्ने वक्ताहरूले पछिल्ला वर्षहरूमा नेपालमा बाढी, पहिरो, अतिवृष्टिलगायत प्राकृतिक विपद्का घटना बढ्दै गएको उल्लेख गर्दै जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताए। विपद् न्यूनीकरणका लागि पूर्वतयारी, सुरक्षित बस्ती विकास तथा वातावरण संरक्षणमा विशेष ध्यान दिनुपर्ने उनीहरूको भनाइ थियो।
कार्यक्रममा एनआरएनएका उपाध्यक्ष विश्वासदीप तिगेला, एनआरएनए यूकेका प्रमुख सल्लाहकार डा. भीम पुन, एनआरएनए यूकेका सल्लाहकारहरू तथा बेलायतमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि र नेपाली समुदायका सदस्यहरूको सहभागिता थियो । कार्यक्रममा सहभागीहरूले मृतकहरूको सम्झनामा दीप प्रज्वलन गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। साथै, बाढीपहिरोबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न बेलायतस्थित नेपाली समुदायलाई आह्वान गरिएको थियो।
एनआरएनए यूके, जीआरएनसी यूकेलगायत विभिन्न संघसंस्थाले सक्दो छिटो सहयोग संकलन गरी प्रभावित क्षेत्रमा राहत पुर्याउने तथा पुनःस्थापनामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा सहभागी हुन नसकेकी स्थानीय अल्डरसट क्षेत्रकी सांसद एलेक्स बेकरले पठाएको शोक सन्देशसमेत कार्यक्रममा पढेर सुनाइएको थियो ।











