लन्डन । नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके)को आयोजनामा ‘डिनर नाइट’ कार्यक्रम सम्पन्न भएको छ । आइतबार ६ जुलाई २०२५ मा अल्डरसटस्थित एम्पायर हलमा सांगीतिक रमझमसहित डिनर नाइट सम्पन्न भएको हो । महासंघका अध्यक्ष मेजर योगेश कोयी राईको सभापतित्वमा र महासचिव फ्रमबहादुर दुराको कुशल सञ्चालन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका संयोजक मेजर (रिटायर्ड) इन्द्रप्रसाद राईले उपस्थित महानुभावहरूलाई स्वागत मन्तव्य प्रदान गर्नुभएको थियो । बेलायतस्थित नेपाली राजदूतावासका राजदूत चन्द्रकुमार घिमिरे र अध्यक्ष मेजर योगेश राईले संयुक्त रूपमा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राजदूत घिमिरेले यस्ता कार्यक्रमहरूले समुदायबीच एकता र सहकार्य सुदृढ पार्ने विश्वास व्यक्त गर्नुभएको थियो । अध्यक्ष मेजर योगेश राईले ‘डिनर नाइट’ कार्यक्रमको उद्देश्य स्पष्ट पार्दै संकलित रकमबाट हाललाई जग्गा लिजमा लिने र भविष्यमा स्थायी रूपमा जग्गा किन्नेसम्मको दीर्घकालीन योजना रहेको जानकारी गराउनुभयो । उहाँ प्राप्त सहयोगको विवरण केही दिनपछि सार्वजनिक गरिने बताउनुभयो ।
कलाकार पवित्रा गुरुङ, आरसी पौडेल, भूमिका साह, आरुषी मगर, युवराज मगर, निता पुनलगायतले सांगीतिक प्रस्तुति दिएर वातावरणलाई थप मनोरञ्जनात्मक बनाउनुभएको थियो ।







