लन्डन । गायक खेम सेन्चुरी, अन्जु पन्त, विजय ठाडामगर बेलायत आइपुगेका छन् । मगर संघ यूकेले जुन १४ तारिख का दिन आयोजना गर्न लागेको १७ औं नेपाली ओपन कन्सर्टका लागि उनीहरु बुधबार राति लन्डनस्थित हिथ्रो विमानस्थल ओर्लिएका हुन् । सेन्चुरी भ्वाइस अफ नेपाली सिजन ६ का कोच हुन् । गायिका पन्त सदाबहार आधुनिक गायिकाका रुपमा परिचित छिन् भने ठाडामगर भ्वाइस अफ नेपाल सिजन ३ मा टप १२ मा पर्न सफल कलाकार हुन् ।
कलाकारहरुलाई अध्यक्ष लालबहादुर (लालु) पुन मगर, कार्यक्रम प्रमुख संयोजक रुद्र थापामगर लगायतका पदाधिकारीहरु विमानस्थल पुगेका थिए ।
‘म्यूजिक फर युनिटी’ सन्देशसहित फार्नबोरोस्थित रग्बी फुटबल क्लबमा बिहान ११ देखि बेलुकी ८ बजेसम्म कन्सर्ट हुनेछ । उनीहरुसँगै बेलायतका स्थानीय कलाकारहरूले नृत्य पनि प्रस्तुत गर्नेछन् । मगर संघ यूकेले हरेक वर्ष आयोजना गर्ने मगर गट ट्यालेण्टका विजेताहरूले पनि प्रस्तुति दिनेछन् ।उक्त कार्यक्रममा बालबालिकाका लागि मनोरन्जनात्मक खेलका साथै युवा, बयस्क र ज्येष्ठ नागरिक सबैलाई मनोरन्जन दिने सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने आयोजकको भनाइ छ ।
बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे प्रमुख अतिथि रहने कार्यक्रममा स्थानीय निकायका मेयर, उपमेयर, काउन्सिलरहरूका साथै बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरू अतिथि रहेछन् ।
सन् २००२ सालमा स्थापना भएको मगर संघ यूकेले बेलायतमा नेपाली गीत, संगीत, कला, संस्कृतिको जगेर्ना र प्रवर्द्धन गर्ने उद्देश्यले सन् २००६ देखि हरेक वर्ष नेपाली ओपन कन्सर्ट आयोजना गर्दै आएको छ ।