लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाले आफ्नो आधिकारिक नाम, लोगो तथा मिल्दोजुल्दो नक्कली इमेल प्रयोग गरी भ्रामक सूचना, समाचार र कार्यक्रम सार्वजनिक गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शाखाले जारी गरेको प्रेस विज्ञप्तिमा पछिल्लो समय संस्थाको आधिकारिक लोगो प्रयोग गरेर तथाकथित तदर्थ समिति घोषणा गर्ने, नयाँ सदस्यताको नाममा आर्थिक संकलन गर्ने तथा आफूलाई पदाधिकारीका रूपमा प्रस्तुत गर्ने प्रयास भइरहेको जानकारी प्राप्त भएको छ । महासंघले यस्ता गतिविधिसँग आफ्नो कुनै सम्बन्ध नरहेको समेत स्पष्ट पारेको छ ।
विज्ञप्तिमा शाखाको छैटौं अधिवेशनबाट निर्वाचित कार्यसमितिले नै वैधानिक रूपमा संस्थाको नेतृत्व गरिरहेको र १३औँ स्थापना दिवस पनि सोही कार्यसमितिको आयोजनामा सम्पन्न भइसकेको उल्लेख गरिएको छ । शाखाभित्र देखिएका केही असन्तुष्टिलाई समाधान गर्न पूर्वअध्यक्ष, सल्लाहकार तथा नेपाल पत्रकार महासंघको केन्द्रीय समितिसँग समन्वय गरी आवश्यक निर्णयसमेत गरिएको जनाइएको छ ।
महासंघले आफ्नो आधिकारिक नाम, लोगो र इमेलको दुरुपयोग गरी भ्रम फैलाउने तथा पत्रकार समुदायलाई विभाजित गर्ने गतिविधि तत्काल बन्द गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । यस्ता गतिविधि नरोकिए आवश्यक परे कानुनी प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ ।
साथै, पत्रकार, सञ्चारमाध्यम, विभिन्न संघसंस्था तथा बेलायतस्थित नेपाली समुदायलाई महासंघको आधिकारिक स्रोतबाट प्रकाशित सूचना र निर्णयलाई मात्र विश्वास गर्न तथा अन्य माध्यमबाट आएका सूचनाप्रति सतर्क रहन आग्रह गरिएको छ ।
महासंघले पत्रकारिताको मर्यादा, संस्थागत वैधानिकता, व्यावसायिक आचारसंहिता र नेपाली पत्रकार समुदायको एकताप्रति आफू सधैं प्रतिबद्ध रहेको दोहोर्याउँदै शाखासम्बन्धी कुनै अन्योल वा जिज्ञासा भए अध्यक्ष वा महासचिवसँग प्रत्यक्ष सम्पर्क गर्न अनुरोध गरेको छ ।
प्रेस विज्ञप्ति








