लन्डन । तमु समाज यूकेले आफ्नो स्थापनाको १८औं वार्षिकोत्सव मनाएको छ । लन्डनको वेम्बलीस्थित बारहम पार्कमा रहेको समाजको आफ्नै भवनमा कार्यक्रम भएको हो । समाजकी अध्यक्ष बिन्दुकुमारी गुरुङ (घले) को अध्यक्षतामा भएको कार्यक्रममा लन्डन बरो अफ ब्रेन्टका लागि बेलायती राजाका प्रतिनिधि Mei Sim Lai OBE DL प्रमुख अतिथिको रुपमा आमन्कात्रण गरिएको थियो ।
कार्यक्रममा नव आजीवन सदस्यहरूलाई प्रमाणपत्र र खादा प्रदान गरी सम्मान गरिएको थियो । साथै, उच्च शिक्षा हासिल गरेका र खेलकुदमा उत्कृष्ट प्रदर्शन गरेका युवा सदस्यहरूलाई पनि सम्मान गरिएको थियो। अध्यक्ष बिन्दु घले र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले सुबिन घले (स्नातकोत्तर डिग्री प्राप्त), संगम गुरुङ (मुई थाई खेल विजेता), र धरान रन तथा यूके रनका अध्यक्ष सन्तोष राई (लन्डन म्याराथन–२०२५ का गिनिज बुक कीर्तिमानधारी) लाई तमु समाज यूके उत्कृष्ट सम्मानपत्र–२०२५ प्रदान गरी सम्मान गरे ।
त्यसैगरी, समाजका सहयोगी व्यवसायी प्रकाश गौतम (जय श्रीकृष्ण ज्वेलर्स, साउथ ह्यारो) लाई समाजमा आर्थिक तथा भौतिक सहयोगस्वरूप समाजको लोगो अंकित मायाको चिनो प्रदान गरी सम्मान गरियो । नेपालबाट आएका चर्चित कलाकार सुरज गुरुङलाई कलाक्षेत्रमा पुरयाएको योगदानका लागि ‘तमु समाज युके उत्कृष्ट समाज सेवा सम्मान–२०२५’ प्रदान गरिएको थियो।
त्यस्तै, समाजको प्रगति र उन्नतिका लागि विशेष योगदान गरेका आजीवन सदस्यहरू गुमानसिं गुरुङ, बुद्धिबहादुर गुरुङ, बिना गुरुङ, नरबहादुर गुरुङ, पूर्ण बहादुर गुरुङ र युवा सदस्य ओसिएन रानालाई पनि ‘तमु समाज यूके उत्कृष्ट समाज सेवा सम्मान–२०२५’ द्वारा अभिनन्दन गरिएको थियो।





