लन्डन । बेलायतस्थित अग्रणी सामाजिक संस्था तमु समाज यूकेले नेपालका बाढीपीडितका लागि २५ लाख १ हजार १०० रुपैयाँ प्रदान गरेको छ । तमु समाज यूके आमा समूहकी संस्थापक अध्यक्ष एवं सल्लाहकार माया गुरुङको नेतृत्वमा रहेको टोलीले गृहमन्त्री सुदन गुरुङलाई रकमको प्रतीकात्मक चेक हस्तान्तरण गरेका हुन् ।
गृह मन्त्रालयमा आयोजित एक औपचारिक कार्यक्रमबीच बिहीबार चेक हस्तान्तरण गरिएको हो । प्रभावितको राहत, उद्धार र पुनर्स्थापनाका लागि संकलन गरिएको उक्त रकम भने नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
२०८३ भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीका साथै धादिङ, नुवाकोट, चितवनलगायत देशका विभिन्न भागमा बाढीपहिरोबाट प्रभावित परिवारको सहयोगार्थ तमु समाज यूकेले विशेष राहत संकलन अभियान सञ्चालन गरेको थियो । अभियानमा समाजका सदस्य, विभिन्न सङ्घसंस्था, व्यवसायी कम्पनी तथा शुभचिन्तकले आर्थिक योगदान गरेका थिए ।
गृहमन्त्री गुरुङले विपत्तिको घडीमा बेलायतमा रहेर पनि मातृभूमिका लागि ठूलो रकम सङ्कलन गरी सरकारी कोषमा जम्मा गरेकोमा तमु समाज यूके परिवारप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरे ।
सहयोग हस्तान्तरणका लागि आवश्यक व्यवस्थापन र संकलन अभियानमा तमु समाज यूकेकी अध्यक्ष बिन्दु कुमारी गुरुङ घले, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, निवर्तमान अध्यक्ष शिवकुमार गुरुङ र कोषाध्यक्ष चन्द्र कान्ता गुरुङले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।







