लन्डन । जेन जी पुस्ताले आयोजना गरेको प्रदर्शनका क्रममा भएको दुःखद घटनाप्रति एनआरएनए यूकेले गम्भीर चिन्ता प्रकट गरेको छ । अध्यक्ष राजेन्द्र पुडासैनी नेतृत्वको संघले एक विज्ञप्ति जारी गर्दै सरकारद्वारा अत्यधिक बल प्रयोग हुँदा विद्यालय र कलेजको पोशाकमै सहभागी विद्यार्थीले ज्यान गुमाउनुपरेको घटनाले आफूहरूलाई अत्यन्त मर्माहत बनाएको जनाएको छ ।
विज्ञप्तिमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गरिएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडितहरूलाई तत्काल राहत र उपचार उपलब्ध गराउन सरकारसँग माग गरिएको छ । साथै बेरोजगारी, भ्रष्टाचार र बेथिति देशका मूल समस्या रहेको उल्लेख गर्दै नागरिकहरूले उठाएका शान्तिपूर्ण मागलाई संवेदनशीलताका साथ सम्बोधन गर्न आग्रह गरिएको छ ।








