,

गोर्खा पेन्सन, नागरिकता र मतदान अधिकारबारे पूर्वमन्त्री पुनसँग नेफिन यूकेको अन्तरक्रिया

Bimala Sene Avatar

बेलायत । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेको आयोजनामा नेपालका पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनसँग भूतपूर्व ब्रिटिश गोर्खाको पेन्सन, वंशजको नागरिकताको निरन्तरता र विदेशमा रहेका नेपालीको मतदान अधिकारलगायत विषयमा अन्तरक्रिया गरिएको छ।

बेलायतको अल्डरसटस्थित सुशिमोटो रेस्टुरेन्टमा आइतबार, ४ अक्टोबर २०२६ मा आयोजित कार्यक्रममा नेफिन यूकेका अध्यक्ष मेजर योगेशकुमार कोयी राईले अध्यक्षता गरेका थिए। पूर्वमन्त्री पुन प्रमुख अतिथि रहेको कार्यक्रम महासचिव फ्रमबहादुर दुराले सञ्चालन गरेका थिए।

अन्तरक्रियामा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो। कार्यक्रममा नेफिन यूकेका अध्यक्ष मेजर योगेशकुमार कोयी राई, महासचिव फ्रमबहादुर दुरा, कोषाध्यक्ष मेजर इन्द्रप्रसाद राई, संस्थापक अध्यक्ष थर्क राना मगर, निवर्तमान अध्यक्ष कर्मा पहाडी शेर्पा, नेफिन बेल्जियमका निवर्तमान अध्यक्ष वीरमान घर्ती मगर, मगर संघ यूकेका वरिष्ठ उपाध्यक्ष रुद्र थापा मगर, गेसोका सभापति कृष्णकुमार राई, एनआरएनए आईसीसीका उपाध्यक्ष विश्वासदीप तिगेला तथा नेकपाका युवा नेता वसन्त राईले विभिन्न विषयमा धारणा राखेका थिए।

छलफलमा विशेषगरी भूतपूर्व गोर्खाहरूको पेन्सन, वंशजका आधारमा नेपाली नागरिकताको निरन्तरता र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार प्रदान गर्ने विषय उठाइएको थियो।

भूतपूर्व गोर्खाहरूको पेन्सनसम्बन्धी प्रश्नमा पूर्वमन्त्री पुनले नेपाल र बेलायत सरकारबीच यस विषयमा निरन्तर संवाद भइरहेको बताए। गोर्खाहरूको पेन्सनसँग सम्बन्धित विषय वार्ता र संवादमार्फत अघि बढाइरहेको उनको भनाइ थियो।

वंशजको नागरिकताको निरन्तरताका विषयमा पुनले तत्कालका लागि गैरआवासीय नेपाली (एनआरएनए) नागरिकतालाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने धारणा राखे। एनआरएनए नागरिकतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके पैतृक सम्पत्ति राख्न, घरजग्गा खरिद–बिक्री गर्न तथा नेपालमा लगानी गर्न सहज हुने उनले बताए।

राजनीतिक परिवर्तन र निजामती प्रशासनमा देखिएको ढिलासुस्तीका कारण एनआरएनए नागरिकता पूर्ण रूपमा व्यवस्थित हुन नसकेको पुनको भनाइ थियो। भूतपूर्व गोर्खाहरूलाई वंशजको नागरिकताको निरन्तरता दिने विषय भने संविधान संशोधनमार्फत मात्रै सम्भव हुने उनले स्पष्ट पारे।

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा पुनले विश्वका विभिन्न मुलुकमा इ–भोटिङ, पोस्टल भोट तथा इन्टरनेटमार्फत मतदानको अभ्यास रहेको बताए। यस्ता प्रणाली सञ्चालनका लागि ठूलो आर्थिक स्रोत आवश्यक पर्ने उल्लेख गर्दै नेपालले त्यसका लागि आवश्यक खर्च धान्न सक्ने वा नसक्ने विषयमा समेत अध्ययन र विचार गर्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा नेफिन यूकेका सल्लाहकार तथा एभरेस्ट टाइम्स यूकेका सम्पादक दूत पुन (चिम्खोले काइला), गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, मान गुरुङ, कलाकार अस्मिता राना मगरलगायतको उपस्थिति थियो। कार्यक्रममा कलाकार राना मगरले नृत्यसमेत प्रस्तुत गरेकी थिइन्।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search