,

गोर्खा नागरिकता निरन्तरताका लागि तमु धीं यूकेको ज्ञापनपत्र, एक महिनाभित्र प्रतिवेदन दिने गृहमन्त्रीको प्रतिबद्धता

Bimala Sene Avatar

काठमाडौं । बेलायतमा रहेका पूर्वब्रिटिस गोर्खा सैनिक तथा उनीहरूका सन्तानको वंशजका आधारमा नेपाली नागरिकताको निरन्तरता र नेपालसँगको कानुनी सम्बन्ध सुनिश्चित गर्न माग गर्दै तमु धीं यूकेले गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ।

तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गृह मन्त्रालयमा बुझाएको ज्ञापनपत्रमा गोर्खा समुदायको ऐतिहासिक योगदान तथा नेपालसँगको पारिवारिक र वंशज सम्बन्धलाई सामान्य गैरआवासीय नेपालीको विषयका रूपमा मात्र नहेरी विशेष रूपमा सम्बोधन गर्न सरकारसँग आग्रह गरिएको छ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री सुधन गुरुङले नागरिकता निरन्तरतासम्बन्धी विषयको अध्ययन गर्न कार्यदल गठन गर्ने र एक महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङका अनुसार बेलायतमा रहेका नेपाली तथा पूर्वब्रिटिस गोर्खा सैनिकहरूको वंशजका आधारमा नागरिकताको निरन्तरता, कानुनी अधिकार र नेपालसँगको सम्बन्ध स्पष्ट बनाउन सरकारको ध्यानाकर्षण गराइएको हो।

ज्ञापनपत्रमा पूर्वब्रिटिस गोर्खा सैनिकहरू नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सम्झौता (टीपीए) अन्तर्गत बेलायती सेनामा सेवा गरेका नेपाली नागरिक तथा उनीहरूका परिवार भएको उल्लेख गरिएको छ। उनीहरूको नागरिकता, वंशज अधिकार र नेपालसँगको सम्बन्धलाई सामान्य आप्रवासन वा वैदेशिक रोजगारीको दृष्टिकोणबाट मात्र हेर्न नहुने तमु धीं यूकेको धारणा छ।

संस्थाका अनुसार सन् २००४ पछि पूर्वब्रिटिस गोर्खा सैनिकहरूका लागि बेलायतमा स्थायी बसोबासको बाटो खुलेको थियो। त्यसपछि बेलायती नागरिकता प्राप्त गर्ने अवसरसमेत उपलब्ध भए पनि नेपाली नागरिकता तथा वंशज अधिकारको निरन्तरताबारे स्पष्ट व्यवस्था नहुँदा समस्या उत्पन्न भएको ज्ञापनपत्रमा उल्लेख छ।

यसै सन्दर्भमा बेलायतमा जन्मिएका गोर्खा परिवारका सन्तानको नेपालसँगको वंशज सम्बन्ध र कानुनी अधिकारलाई स्पष्ट, सहज र व्यवस्थित बनाउन आवश्यक कानुनी व्यवस्था गर्न तमु धीं यूकेले सरकारसँग माग गरेको छ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search