काठमाडौं । थाइल्याण्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा रहेका र स्वदेश फर्कन चाहने ६३ जना नेपालीका लागि एकतर्फी यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) तयार गरी पठाइसकेको जनाएको छ।
दूतावासका अनुसार आफ्नो अनुरोधअनुसार सोमबार बेलुकासम्म अनलाइन फाराम भरी विवरण उपलब्ध गराएका नेपालीहरूका लागि उक्त डकुमेन्ट तयार पारिएको हो। बुधबार बेलुकासम्म फाराम भर्नेहरूको कागजात भोलि पठाइने जानकारी दिँदै दूतावासले अझै फाराम नभरिएकाहरूलाई अनलाइन लिंकमार्फत तत्काल विवरण बुझाउन आग्रह गरेको छ।
यसअघि दूतावासले चैत ३० र वैशाख १ गते गरी कम्बोडियामा बिनाभिसा अवैध रूपमा बसिरहेका ४६ जना नेपालीको उद्धार गरी स्वदेश फिर्ता पठाइसकेको थियो। विभिन्न प्रलोभनमा पारेर त्यहाँ पुर्याइएका ती नेपालीहरूलाई अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा ठगीलगायतका गैरकानुनी गतिविधिमा संलग्न गराइएको बताइएको छ।
दूतावासले कम्बोडियामा अलपत्र परेका अन्य नेपालीहरूको उद्धार र स्वदेश फिर्ताका लागि आवश्यक पहल जारी रहेको जनाएको छ।







