बेलायत । नेपाल पत्रकार महासंघ (यूके)ले आफ्नो १५औँ स्थापना दिवस बेलायतको अल्डरसटमा भव्य रूपमा मनाएकाे छ । शुक्रबार एम्पायर हलमा महासंघकी अध्यक्ष विमला सेनेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ पत्रकार भगिरथ योगी प्रमुख अतिथि रहेका थिए ।
साे क्रममा कार्यक्रमलाइ सम्बाेधन गर्दै प्रमुख अतिथि भगिरथ योगीले संस्थामा रहेका असन्तुष्ट पत्रकारहरूलाई समेत समेटेर र मिलाएर अघि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा अथितिको तर्फबाट नेफिन यूेकेका अध्यक्ष मेजर योगेश कोयी राईले शुभकामना मन्तव्य राखेका थिए । सो क्रममा उनले पत्रकारहरुलाई निशुल्क रुपमा समाचार सम्प्रेसन गर्नु पर्नेमा जोड दिनु भयो ।
एनआरएनए यूकेका संरक्षक डेभिड गुरुङले आगामी दिनमा स्थापना दिवसको कार्यक्रम लन्डनस्थित नेपाली दूतावासमा आयोजना गर्न सल्लाह दिए । त्यसैगरि नेपाल प्रहरीका पूर्वडीएसपी शिवजी श्रेष्ठले पत्रकारिताको गरिमा जोगाउन वास्तविक र व्यावसायिक पत्रकारहरूलाई मात्र सदस्यता वितरण गरिनुपर्ने धारणा राखे ।
संस्थाका वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव खेमराज रानाभाटले गरेका थिए भने सचिव विश्वास दीप तिगेलाले देश–विदेशबाट प्राप्त भएका शुभकामना सन्देशहरू वाचन गरेर सुनाएका थिए ।
कार्यक्रममा संघका उपाध्यक्ष प्रमिला लाबुङ राईले स्वागत मन्तव्य राखेकी थिइन् ।

स्थापना दिवसका अवसरमा समाजका विभिन्न क्षेत्रमा अनुकरणीय योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरूलाई विशेष सम्मान गरिएको थियो । जसअन्तर्गत वरिष्ठ पत्रकार मेजर सोनाम शेर्पालाई ‘वर्ष पत्रकारिता सम्मान २०२६’ प्रदान गरियो । त्यस्तै, देश र समाजमा अदम्य साहस, दृढ इच्छाशक्ति र प्रेरणादायी योगदान पुर्याएबापत प्रतिष्ठित पर्वतारोही, उत्प्रेरक वक्ता एवं अपाङ्गता अधिकार अभियन्ता डा. हरि बुढा मगरलाई विशेष सम्मान गरियो ।

नेपाली कला, साहित्य र संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धनका साथै साहित्यिक सिर्जना र अनुसन्धानमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत युनिभर्सल पिस फेडेरेसन यूकेकी अध्यक्ष एवं साहित्यकार डा. संगीता श्रेष्ठ ‘स्वेच्छा’लाई पनि सम्मानित गरियो । समारोहमा पत्रकारहरू गोमा रानामगर, उपाध्यक्ष प्रमिला लाबुङ राई र सचिव मञ्जु भण्डारी खरेलले क्रमशः सम्मानित व्यक्तित्वहरू मेजर सोनाम शेर्पा, डा. हरि बुढा मगर र डा. संगीता स्वेच्छा श्रेष्ठको व्यक्तित्वमाथि प्रकाश पारेका थिए ।

सोही अवसरमा संस्थाका तर्फबाट थप उपलब्धि हासिल गर्ने कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई पनि बधाईसहित सम्मान गरिएको थियो। विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेबापत साहित्यकार, समाजसेवी एवं एफएनजे यूकेका केन्द्रीय प्रतिनिधि डा. दूत पुन (चिम्खोले काइँला) सम्मानित भए । एनआरएनए आईसीसीको उपाध्यक्षमा निर्वाचित भएबापत संस्थाका सचिव विश्वास दीप तिगेला र गुल्मी समाज यूकेको अध्यक्षमा निर्वाचित भएबापत सचिव मञ्जु भण्डारी खरेललाई अध्यक्ष सेनेले खादा ओढाएर सम्मान गरेकी थिइन् ।
कार्यक्रममा सक्रिय पत्रकार तथा कलाकार राजेन्द्र केरुङले साङ्गीतिक प्रस्तुती राखेका थिए भने संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक नरेन्द्र वस्नेतले फएनजे यूकेको वारेमा तयार पारिएको वृत्तचित्रको विषयमा चर्चा गरेका थिए । साथै उहाँको रचनामा तयार पारिएको पत्रकारीतासम्बन्त्री गीतको पनि विमोचन गरिएको छ । महासंघको १५औँ स्थापना दिवसको अवसरमा चेक समेत काटिएको थियो ।

कार्यक्रमलाई आर्थिक एवं भौतिक रूपमा सहयोग पुर्याउने प्रायोजकहरू तथा नेपालबाट बेलायत आएका आमन्त्रित कलाकारहरू शिवदास गुरुङ, अस्मिता रानामगर र नरेन्द्र केरुङलाई पनि सोही अवसरमा सम्मान गरिएको थियो । औपचारिक शुभकामना आदानप्रदानका बीच–बीचमा नेपालका चर्चित कलाकारहरू शिवदास गुरुङ, अस्मिता रानामगर र नरेन्द्र केरुङले आ–आफ्ना उत्कृष्ट सांगीतिक एवं नृत्य प्रस्तुतिमार्फत हलमा उपस्थित दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गर्दै कार्यक्रमलाई सङ्गीतमय र रोचक बनाएका थिए ।



सम्मानित व्यक्तित्व डा. दूत पुन (चिम्खोले काइँला) ले बेलायतमा कार्यरत पत्रकारहरूलाई व्यावसायिक बनाउनका लागि उपस्थित विभिन्न संघसंस्थाका अगुवाहरूलाई सहयोगका लागि अपिल गरेका थिए ।
अन्त्यमा शाखाका अध्यक्ष सेनेले अमुल्य सल्लाह र सुझाब दिने महानुभावहरुलाई धन्यवाद दिँदै कार्यान्वयन गर्ने वाचा गरेकी थिइन् । उनले कार्यक्रम सफल बनाउन उपस्थित हुने सबैलाई धन्यवाद दिइन् । कार्यक्रममा एनआरएनए यूकेका संरक्षक डेभिड गुरुङ, नेफिन यूकेका अध्यक्ष मेजर योगेश कोयी राई, फोनिज यूकेका अध्यक्ष बम थापा सूर्यवंशी, पूर्व मेयर तथा काउन्सिलर विष्णु गुरुङ र पूर्व डीएसपी शिवजी श्रेष्ठ विशिष्ट अतिथिका रूपमा उपस्थित थिए । त्यसैगरी तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूहकी अध्यक्ष कमलदेवी गुरुङ, मगर संघ यूकेका उपाध्यक्ष गुमानसिंह थापा, जीआरएनसीकी अध्यक्ष लीला सेलिङ मावोलगायत बेलायतस्थित विभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूको उपस्थिति थियो ।
महासंघ युकेको स्थानपना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमिति लगायत महासंघका विभिन्न शाखाहरुबाट शुभकामना पत्रहरु पठाइएको थियो । केन्द्रीय कार्य समितिको तर्फबाट अध्यक्ष निर्मला शर्माद्वारा हस्ताक्षरित शुभकामना पत्रसँगै नेपाल पत्रकार महासंघ जापान शाखा, नेपाल पत्रकार महासंघ युरोप शाखा लगायतबाट स्थापना दिवसको शुभकामना पत्र पठाइएको थियो ।









