तुर्किए । तुर्किएमा रहेका नेपालीहरूको साझा संस्था गैरआवासीय नेपाली संघ कानुनी रूपमा दर्ता भएको छ । इस्तानबुलमा केन्द्रीय कार्यालय रहने गरी दर्ता प्रक्रिया सम्पन्न भएपछि तुर्किएस्थित नेपाली समुदायमा उत्साह थपिएको छ ।
संस्थापक अध्यक्ष विनोद पौडेलका अनुसार संस्थाको दर्तासँगै तुर्किएमा रहेका नेपालीहरूको संस्थागत प्रतिनिधित्वका लागि बलियो कानुनी आधार तयार भएको छ । यसमार्फत नेपाली समुदायका साझा हित, सूचना प्रवाह, आपत्कालीन सहयोग, श्रम तथा कानुनी सचेतना, सांस्कृतिक संरक्षण र सामाजिक एकताका क्षेत्रमा व्यवस्थित रूपमा काम गर्न सकिने विश्वास लिइएको छ ।
तुर्किएमा हालसम्म नेपालको स्थायी राजदूतावास वा महावाणिज्य दूतावास स्थापना नभएको सन्दर्भमा संस्थाले नेपाल सरकारसमक्ष राजदूतावास तथा आवश्यक कूटनीतिक संरचना स्थापना गर्न पहल र दबाब सिर्जना गर्ने नीतिसमेत अघि सारेको छ । अध्यक्ष पौडेलले तुर्किएमा नेपालीहरूको संख्या बढ्दै गइरहेका कारण दूतावास स्थापनाले सेवा प्रवाह, श्रमिक संरक्षण तथा नेपाल–टर्की सम्बन्धलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताए ।
इस्तानबुल तुर्किएको सबैभन्दा ठूलो महानगर तथा नेपालीहरूको प्रमुख बसोबास क्षेत्र भएकाले सेवाप्रवाह र समन्वयलाई प्रभावकारी बनाउन केन्द्रीय कार्यालय त्यहीँ स्थापना गरिएको जनाइएको छ ।






